मह किसानको समस्या अध्ययन गर्न समिति गठन
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानका समस्या अध्ययन गर्न समिति गठन गरेका छन् ।
मह किसानले हाल मौज्दात २ हजार १ सय टन मह बिक्री व्यवस्था मिलाइदिन, मह आयातमा कर वृद्धि गर्न, स्वदेशी मह बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायत माग सरकार समक्ष राखे सँगै मन्त्री अधिकारीले समिति गठन गरेका हुन् ।
आइतबार मन्त्रालयमा बसेको सरोकारवाला सहभागी बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन भएको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।






