sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बागमती प्रदेशमा सांसद्का योजनामा बजेट थप्ने सहमति

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेश सभाका दलहरुबीच विपक्षी दलका सांसद्को योजनामा बजेट थप गर्ने सहमति भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विपक्षी दलले प्रदेश सभा अवरुद्ध गर्ने तयारी गरेपछि सरकारको सक्रियतामा सर्वदलीय बैठक बसेको थियो ।

मुख्यमन्त्री बहादुर सिंह लामाले बोलाएको सर्वदलीय बैठकले सांसद्का योजनामा अपुग बजेट थप्ने सहमति गरेको हो । चालू आर्थिक वर्ष २०८१र८२ को बजेटमा सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई २ करोड सिलिङ तोकेको थियो । तर बजेट अपुग भएको भन्दै माओवादी, राप्रपा र एकीकृत समाजवादीले आइतबार बोलाएको प्रदेशसभा बैठक अवरोधको तयारी गरेका थिए । डेढ महिनापछि बोलाइएको प्रदेशसभा बैठक अवरोध हुन नदिन सरकारले विपक्षी दलसँग बजेट थप्ने सहमति गरेको हो ।

सर्वदलीय बैठकले योजनाको मूल्यांकन र बजेटको आकार निर्धारणका लागि कार्यदल गठन गरेको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वको कार्यदलमा एमालेबाट मधुसुदन पौडेल, माओवादीबाट रत्नप्रसाद ढकाल, राप्रपाका गिरबहादुर तामाङ, एकीकृत समाजवादीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य सदस्य छन् । कार्यदलमा विपक्षी दल नेमकिपा भने सहभागी छैन ।

कार्यदललाई कात्तिक दोस्रो सातासम्म पेश भएका योजनाको अध्ययन गरी रकम थप गर्न सुझाव दिने समय सीमा तोकिएको छ । सर्वदलीय बैठकमा सरकारको काम कारबाही चुस्तदुरूस्त नभएको विषयमा विपक्षी दलहरूले प्रश्न गरेका थिए । सरकारले प्रभावकारी ढंगले अगाडि बढाउने मुख्यमन्त्रीको प्रतिबद्धतापछि प्रदेशसभा सञ्चालन गर्ने सहमति भएको जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्