माओवादीको परामर्श समिति बैठक आज सकिँदै
काठमाडौं । भदौको पहिलो हप्तादेखि सुरु भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समिति बैठक आज सम्पन्न हुने भएको छ । साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक राख्ने निर्णय गरेको थियो ।
स्थायी समिति बैठकको निर्णयअनुसार भूगोलका सात प्रदेशका साथै गैरभूगोलतर्फ उपत्यका विशेष, प्रदेश समन्वय, प्रवासतर्फ एसिया, युरोप अमेरिका समिति केन्द्रीय निकाय, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न भइसकेको छ ।
अन्तिम दिन सार्क राष्ट्रमा कार्यरत केन्द्रीय सदस्यहरू र पदाधिकारीको संयुक्त बैठक रहेको छ । बैठक सकिएपछि आवश्यकताअनुसार केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्ने छ । केन्द्रीय समिति बैठक दसैँ लगत्तै बस्नेछ ।
केन्द्रीय पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समिति बैठकबाट आएका सुझावका आधारमा केन्द्रीय समितिले बृहत् योजना ल्याउने योजना रहेको जनाइएको छ । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै वामपन्थी दलहरू गोलबन्द भएर जानुपर्नेमा सुझाव आएको बताइएको छ ।
स्थायी समिति बैठकमा पुष्पकमल दाहाल प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी दस्तावेज पेस गरेका थिए । पार्टी निर्माण र नेतृत्वको विकल्पको सम्बन्धमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठको छुट्टै दस्ताबेज पेस गरेका थिए । परामर्श समिति बैठकमा स्थायी समिति बैठकको निर्णयसहित शर्माको दस्तावेजमाथि पनि छलफल भएको थियो ।
सबै प्रदेशमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबैको विचारलाई समेटेर केन्द्रीय समिति बैठकमा राजनीतिक दस्तावेज प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए ।






