sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

४ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । 

प्रधानमन्त्री

संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली दोहा पुग्ेका छन् । प्रधानमन्त्री ओलीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने छ । टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन् । 

संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् । असोज १० गते उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि उनले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने छन् । 

न्यूयोर्कमा रहँदा उनले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्न । अमेरिका भ्रमण क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । उनी असोज १४ गते स्वदेश फर्कीने छन् । यता, उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई दिएका हुन् । 

ओली आरजु सम्बोधन

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणाले एउटै मञ्चमा सम्बोधन गर्ने भएका छन । महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ । 

असोज १० गते महासभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् । सोही समारोहका विभिन्न कार्यक्रममा परराष्ट्रमन्त्री राणाले पनि सम्बोधन गर्ने छिन् । 

माधव-झलनाथ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनपरी ढंगले चल्ने र एकीकृत समाजवादीलाई बेवास्ता गर्नेकुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गरेका हुन् ।  उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न खोजे आफूहरु हातेमालो गर्न तयार रहेको बताए । 

उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए । उनले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताएका छन् ।  जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने बताएका छन् 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताएका हुन् । उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरे । उनले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताएका छन् ।

मन्त्रिपरिषद निर्णय

सरकारले बेरुजु फस्र्यौटका लागि भन्दै बेरुजु फस्र्यौट समिति गठन गरेको छ । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य प्रक्रियाबाट फस्र्यौट हुन नसकेका बेरुजु फस्र्यौट गर्न भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फस्र्यौट समिति गठन गरेको हो । मन्त्रिपरिषद्ले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । 

सरकारले राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा बागमती प्रदेशबाट तेजेन्द्रबहादुर खड्का, गण्डकी प्रदेशबाट प्रदीपराज अधिकारी, लुम्बिनीबाट गुणनिधि भुसाल, कोशि प्रदेशबाट एकराज निरौला र कर्णाली प्रदेशबाट भूपेन्द्रबहादुर सिंहलाई मनोनयन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तत्कालिन वन्यजन्तु आरक्ष बिस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरुको सट्टा भर्ना गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गर्ने पनि मन्त्रिपरिषद्को निर्णय छ । 

नेपाल इन्टर मोडल यातायात विकास समिति काठमाडौँको दोधारा चाँदनी सुख्खा बन्दरगाह एकीकृत जाँच चौकी निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पती खोजबिन समितिको म्याद २ महिना थप गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सार्वजनिक ऋण

देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार लगातार बढिरहेको छ । चालु आर्थिक वष २०८१–८२ को पहिलो महिना २ महिना अर्थात साउन र भदौमा गरेर १ खर्ब ४ अर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन र भदौमा गरेर ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण थपिएको हो । २०८१ असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रहेको सार्वजनिक ऋणको दायित्व भदौ मसान्तसम्म आइपुग्दा २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको हो । 

तथ्यांक अनुसार चालु आव साउन मसान्तसम्ममा प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल  सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएको छ । 

म्यान्मार बाढी

म्यान्मारमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुगेका साथै ८९ जना बेपत्ता भएका छन् । बाढीले म्यान्मारका विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको म्यान्मारको राष्ट्रिय दैनिक ‘द मिरर’ ले शुक्रबार जनाएको छ । बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिएको एक प्रतिवेदनले जनाएको छ । 

बाढीले सात लाख ६६ हजार ५८६ हेक्टर बाली डुबानमा पर्नुका साथै एक लाख २९ हजार १५० जनावरको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । ‘यागी’ नाम दिइएको आँधीका कारण बङ्गालको खाडीमा परेको न्यून चापीय प्रभावका कारण म्यान्मारमा भारी वर्षा भएको र व्यापक बाढी आएको जनाइएको छ । बाढी प्रभावित क्षेत्रको सरसफाइ, स्वास्थ्य सेवा लगायत बाढी पीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन् ।

एन्फा लिग

एन्फा महिला लिग फुटबलमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मीले चन्द्रपुर नगरपालिकालाई १०–० ले पराजित गरेको हो । चन्द्रा भण्डारी र अमिषा कार्कीको ह्याट्रिकसँगै आर्मीले लिगको दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ । यो सँगै दोस्रो स्थानको आर्मीले सात खेलबाट १६ अंक जोडेको छ । 

एपिएफपछि सुपर लिगमा स्थान बनाउने आर्मी दोस्रो टोली बनेको छ । आर्मीको जितमा चन्द्रा र अमिषाले मात्रै ६ गोल गरिन्। हिमा चौधरी, दीपा शाही, अन्जन रानामगर र सर्मिला थापा मगरले समान एक गोल थपिन् । शुक्रबार भएको पहिलो खेलमा एपीएफले कोशीलाई ८–० को फराकिलो गोल अन्तरले हराएको छ । एफीएफका लागि रश्मीकुमारी घिसिङले ५ गोल गरिन् । यस्तै अनिता बस्नेतले २ र अनिता केसीले १ गोल गरिन् ।  जीतसँगै एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ ७ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशी उति नै खेलमा १० अङ्कसहित पाँचौं स्थानमा छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्