आजका प्रमुख सात समाचार
काठमाडौं ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा एक महिने विशेष अभियानको शुभारम्भ उनले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरेका हुन् ।
उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाािणत भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएको धन्यवाद दिए । उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको बताए ।
रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपतिको प्रस्ताव गरेका छन् । काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव गरेका हुन् । उनले उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पनि प्रस्ताव अघि सारे ।
राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरे । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका लामिछानेले अहिलेकै अवस्थाको प्रदेशसभा कुनै हालतमा स्वीकार गर्न नसकिने पनि बताए । प्रदेशसभा खारेज गर्दै स्थानीय तहका प्रमुखहरु रहेको विधायिकाबाट कानुन बनाउने प्रस्तावमाथि छलफल सुरु गर्ने प्रस्ताव गरेका छन् । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा मन्त्रालय राख्ने उनको प्रस्ताव छ ।
स्थानीय पालिकाहरुको संख्या पनि घटाएर ५०० मुनि ल्याउने रास्वपाको प्रस्ताव छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको मिति २०८२ साल वैशाख २५, २६ र २७ गते घोषणा गरेको छ । पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताए । उनले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने बताएका छन् ।
कोशी मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन । कार्कीले बुधबार विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा ६६, विपक्षमा १५ मत र मत दिन्न भन्नेमा शून्य मत परेको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे ।
मतदानमा ८३ सांसद्ले भाग लिएका थिए । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत दिएका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।
निर्वाचन तालिका
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना आगामी असोज ९ गते प्रकाशन गरी असोज १० गतेदेखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
आगामी असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको छ । कार्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ । आगामी मङ्सिर १६ मा मतदान गर्ने कार्यक्रम छ । मंसिर १६ मा उपनिर्वाचन हुँदैछ ।
संविधान दिवस कैदी
संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुट्नेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् । गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्कीले बताए ।
९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो । दुबै टोलीमा सूचना निकालिएकाहरु ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ । यसअघि १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएकामा यो पटक गण्तन्त्र दिवसमा पनि रिहा भएका थिएनन् ।
शेयर बजार
नेपाल स्टक एक्सचेञ्ज नेप्से बुधबार ४ अंकले घटेको छ । बुधबार शेयर ०.१५ प्रतिशतले घटेर २५७६ दशमलव ७६ विन्दुमा पुगेको छ । सेयर बजार घटेकोमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चासो व्यक्त गरे । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेको स्थलगल निरीक्षण गर्दै बजार वृद्धिका लागि सक्दो पहल गर्न निर्देशन दिए ।
करिब २ हजार हाराहारीमा रहेको नेप्से पौडेल अर्थमन्त्री भएपछि लगातार बढेर तीन हजार पुगेको थियो । यही कारण पनि अर्थमन्त्री पौडेललाई सेयर बजारका लगानीकर्ताले सकारात्मक रुपमा लिँदै आएका थिए । तर त्यो वृद्धि लामो समयसम्म टिकेन र लगातार जसो बजार घटिरहेको छ । सोही क्रममा बुधबारसम्म नेप्से २ हजार ५ सय ७६ विन्दुमा झरेको छ । बजार निरन्तर घट्न थालेपछि अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुसँग छलफल गर्नु भएको थियो ।
सोही क्रममा अर्थमन्त्री पौडेलले नेप्सेको क्षमता अभिवृद्धिका लागि सरकारले सबै प्रकारका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । बुधबार ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ । बुधबार ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बुधबार ३२० वटा कम्पनीको शेयर ८० हजार ३७८ पटक किनबेच भएको छ । यस्तै ४ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ भने २ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
एन्फा लिग
एन्फा महिला लिगमा कर्णाली प्रदेशले पहिलो जित निकाल्दा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको दोस्रो खेलमा कर्णाली प्रदेशले पहिलो जित निकालेको हो । प्रतियोगिताकै कमजोर टोली सुदूरपश्चिम प्रदेशलाई ३-० ले पराजित गर्दै कर्णालीले जित दर्ता गरेको हो ।
यो सँगै कर्णालीले ६ खेलबाट चार अंक जोडेको छ । सुदूरपश्चिमले भने अहिलेसम्म अंक जोड्न सकेको छैन । कर्णालीको जितमा भूमिका बूढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गरिन् । बुधबार नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै पुलिसले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । चन्द्रपुरले भने समान खेलबाट सात अंक पुर्याएको छ ।






