sevenstartv.com १६ असार २०८३, मङ्गलवार

काठमाडौंमा ९६ जनाले पाए हराएका मोटरसाइकल

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं उपत्यका भित्रका ९६ जनाले हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएइएको छ । प्रहरीका अनुसार पाँचमोटरसाइकलमा एउटै नम्बर प्लेट राखेरसमेत चलाइरहेको भेटिएको थियो । चोरीमा सङ्लग्न व्यक्ति पनि पक्राउ परेका छन् ।

गत वैशाख १५ गतेदेखि भदौ २४ गतेसम्म परेका निवेदनका आधारमा खोजतलास गर्दा ती मोटरसाइकल फेला परेका प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलङ्की, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेवीलगायत स्थानबाट हराएका उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्