सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने तयारीमा कांग्रेस
काठमाडौं । सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्यलाई नेपाली कांग्रेसले तोड्ने भएको छ । नेकपा एमालेले प्रदेश सरकारहरूमा देखाएको व्यवहारलाई मुख्य कारण देखाउँदै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको हो ।
शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको कांग्रेसका एक नेताले बताएका छन् । सातवटै प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँने निर्णय अनुसार नै हरेक प्रदेशका मन्त्रीहरुलाई सरकारबाट बाहिर बोलाउने तयारी रहेको ति नेताको भनाई छ ।
सत्ता समिकरणमा समस्या देखिए पछि आजमात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो । कर्णालीमा एमालेको र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार रहेको छ ।
अब बाँकी अन्य प्रदेशमा पनि एमाले–कांग्रेसबीच भएको सहमति तोडिने पक्का भएको जनाइएको छ । कांगैस नेताका अनुसार प्रदेश सरकारमा नेकपासँग समझदारी भएको खण्डमा सरकारमै रहनेगरी छलफल अघि बढाइएको र नभए सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने अनौपचारिक छलफलको निष्कर्ष रहेको छ ।




















