जिल्ला कारागार खोटाङमा एक कैदीको सुतेकै अवस्थामा मृत्यु
खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुत्नु अघि ठिकठाक सुतेका भए पनि मध्यराति बेहोस अवस्थामा भेटिएको थिए । कैदी सुत्नु अघि स्वस्थ्य रहे पनि उनको अचानक मृत्यु भएको हो ।
सवारी ज्यान मुद्दामा दिक्तेल मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको कारागारमा नै मृत्यु भएको हो । कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएका थिए ।
मंगलबार राति खाना खाएर सुतेका राई १२ः४५ बजे सुरु हुने विश्वकप फुटबल हेर्न उठाउन साथीहरूलाई भनेका थिए । सोही अनुसार सवा १२ बजे उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो।बेहोस अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकामा अस्पतालले तत्कालै मृत घोषणा गरेको उनको भनाई छ ।
अस्पताल ल्याइपुर्याउँदा कैदीको मृत्यु भइसकेको जनाउँदै अस्पतालका डा पुष्कल राईले भने, “मृत्युको कारण खुलेको छैन, शव परीक्षणपछि मात्रै थाहा हुन्छ ।” मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए ।
जरिवाना तिरेको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुनसक्ने अवस्था रहेको थियो तर उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारे भने कुनै जानकारी प्राप्त भएको छैन ।




















