मकवानपुरको मनहरीबाट १०९ केजी गाँजासहित २ जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले मंगलबार राति १०९ केजी गाँजासहित दुई जनालाई नियरुन्त्रणमा लिइएको छ । धादिङको गजुरी नगरपालिका–७ किरानचोकका ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट १०९ केजी गाँजासहित प्रहरीले नियन्त्रण लिइएको हो ।
प्रहरीका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०१–०२६ च ४८९३ नम्बरको जिपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाई–छिपाई राखिएको प्लास्टिकले बेरिएको १५ वटा पोकामा गाँजा फेला परेको थियो ।
इलाका प्रहरी कार्यालयका अनुसार उक्त गाँजा चितवनको भण्डाराबाट लोड गरी ल्याइएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले उक्त गाँजा हेटौंडा–वीरगन्ज हुँदै भारततर्फ लैजान लागिएको खुल्न आएको समेत बताएको छ ।




















