काभा महिला भलिबल : नेपालसँग माल्दिभ्स पराजित
काठमाडाैं । काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५-८, दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-१८ ले हरायो । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ ।
अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ । माल्दिभ्सले भने एक अङ्क पनि नजोडी प्रतियोगिता सकाएको छ । आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ ।
भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलङ्कासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि दिउँसो ३ बजे भारत र श्रीलङ्का तथा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । काभा महिला भलिबल लिगको फाइनल खेल बुधबार बेलुकी ५ बजे शुरू हुनेछ ।

.gif)