युरोपमा जफत गरिएको रूसी सम्पत्ति युक्रेनलाई दिने प्रस्तावमा युरोपेली नेताहरुबीच नै मतभेद
काठमाडौं । ब्रसेल्समा चलिरहेको युरोपेली संघ (ईयू) का नेताहरूको शिखर सम्मेलनमा युक्रेनलाई सहयोग गर्न जफत गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने प्रस्तावले गम्भीर मतभेद उत्पन्न गरेको छ । प्रस्तावअनुसार युरोपमा जफत गरिएको झन्डै २ सय १० अर्ब युरो बराबरको रूसी केन्द्रीय बैंकको सम्पत्तिलाई आधार बनाएर युक्रेनलाई आउँदो २ वर्षका लागि ऋण उपलब्ध गराइनेछ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यदि सहयोग असफल भए रूस झनै आक्रामक बन्ने र युरोपमै नयाँ युद्धको जोखिम बढ्ने बताएको अलजजिराले जनाएको छ । तर ईयूभित्र यस प्रस्तावमा पूर्ण सहमति देखिएको छैन । विशेषगरी बेल्जियमले कानुनी तथा आर्थिक जोखिम देखाउँदै गहिरो चिन्ता व्यक्त गरेको छ । युरोपमा जफत गरिएका धेरैजसो रूसी सम्पत्ति ब्रसेल्सको युरोक्लियर नामक वित्तीय संस्थामा भएकाले बेल्जियमको भूमिका निर्णायक मानिएको छ ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले पनि प्रस्तावको कडा विरोध गरेका खबरमा उल्लेख छ, यद्यपि केही अन्य ईयू सदस्य राष्ट्रहरूले प्रस्तावलाई समर्थन जनाइसकेका छन् । यस विषयमा रूसले कडा प्रतिक्रिया दिएको छ । रूसी केन्द्रीय बैंकले यदि जफत गरिएका सम्पत्ति युक्रेनलाई सहयोग गर्न प्रयोग गरिए युरोपेली बैंकहरूविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको खबरमा उल्लेख छ ।
विश्लेषकहरूका अनुसार यस कदमले ईयू र रूसबीचको आर्थिक द्वन्द्व अझ चर्किन सक्ने जोखिम बढाएको छ र दुई पक्षबीचको सम्बन्ध दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने देखिन्छ ।

.gif)