श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।
यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।
श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए । श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।
मध्य श्रीलंकामा पर्ने बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएको छ, जसका कारण धेरै ग्रामीण बस्तीसम्म राहत सामग्री पुर्याउन समस्या भइरहेको छ । श्रीलंकाका प्रधानमन्त्री हारिनी अमारासूर्या कोलम्बोमा रहेका विभिन्न देशका राजदूतहरुसँग भेट्दै उनीहरूलाई देशको गम्भिर अवस्थाबारे जानकारी गराइरहेका छन् र सहयोग गर्न आग्रह गरिरहेका छन् ।
अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा न त बत्ती छ, न त पानीको धारा चलिरहेको छ, किनकि विद्युत् लाइनहरू ध्वस्त भएका छन् । पानी शुद्धीकरण केन्द्रहरू समेत बाढी र डुबानबाट प्रभावित भएका छन् । धेरै क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । यसबीच, राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व क्यान्डीमा पनि पहिरोले सडकहरू भत्किएको खबर छ, जसका कारण धेरै ठाउँसम्म पुग्न सम्भव छैन ।

.gif)