sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

बढ्यो डिजेल र पेट्रोलको मूल्य

३० कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरेर प्रतिलिटर पेट्रोलको मूल्य दुई रुपैयाँ र डिजेलको मूल्य तीन रुपैयाँले बढाएको निगमले जनाएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएपछि मूल्य बढाएको हो । यद्यपि, भारतबाट बढेर आएको मूल्य दरको तुलनामा कम बढाएको निगमको भनाइ छ। 

‘इन्डियन आयल कर्पोरेसनबाट १५ नोभेम्बरमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २.५४ ले र डिजेलमा ६.५३ ले बढेर आए पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँले मात्र बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५८.५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गका क्षेत्रमा १६१ रुपैयाँ पर्नेछ । यस्तै, डिजेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १४४.५०, दोस्रो वर्गका क्षेत्रमा १४६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा १४७ रुपैयाँ पर्नेछ ।

पहिलो वर्गअन्तर्गत  चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्र पर्छन् । यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायललगायतका क्षेत्र पर्छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्