ट्रम्पले लिए १०० भन्दा बढी वस्तुमा कर फिर्ता
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पर्याप्त मात्रामा उत्पादन नहुने १०० भन्दा बढी वस्तुमा कर हटाएका छन्। जीवनयापन खर्च बढ्दै गएपछि मूल्य नियन्त्रणका लागि सरकारले कर फिर्ता लिएको ह्वाइट हाउसले जनाएको छ ।
यस्ता वस्तुमा कफी, केरा, एभोकाडो, मासु लगायत सयभन्दा बढी खाद्यवस्तु छन् । ट्रम्प प्रशासनले पछिल्ला कर छुटहरू १३ नोभेम्बरको मध्यरातिदेखि नै कार्यान्वयनमा आएको बताएको छ। खाद्यवस्तुको मूल्यमा परेको दबाब र उपभोक्ताको असन्तुष्टिलाई ध्यान दिँदै, सरकारले मूल्य कम गर्ने उद्देश्यले भन्सार घटाएको हो। बीफको बढ्दो मूल्य र किराना सामानको महँगोदर पछिल्लो समय राजनीतिक मुद्दा बनेको थियो ।
राष्ट्रपति ट्रम्पले मासु उद्योगमा मूल्य हेरफेर भएको आरोप लगाउँदै छानबिनको माग समेत गरेका थिए। उता कफी र केरामा लगाइने अतिरिक्त कर पनि ल्याटिन अमेरिकी चार देशसँगका व्यापार सम्झौताअनुसार घटाइने जनाइएको छ । राष्ट्रपति ट्रम्प र अर्थमन्त्री स्कट बेसन्टले अमेरिकामा कफीको मूल्य यस वर्ष २० प्रतिशतले घटाइने दाबी गरेका छन्।

.gif)