sevenstartv.com १ पुष २०८२, मङ्गलवार

चेपाङ समुदायले आज न्वागी पर्व मनाउँदै

२२ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं ।  चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाउँदैछ । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउने गरेको छ ।

न्वागी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । यो वर्ष चितवनको इच्छाकामना गाउँपालिका-६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वागी मनाउन लागिएको बताइएकाे छ । 

 चेपाङ बाहुल्य रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागीलाई उत्सवका रूपमा मनाउने गरिएको छ । उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरि नै न्वागी मनाउने गरेको छ।

 चेपाङ जातिका ६४ वटा थर छन् । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाइन्छ । न्वांगीमा चेपाङ झाँक्रीले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यो दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् ।

नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ छ । चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्