sevenstartv.com ३ पुष २०८२, बिहिवार

उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

१५ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ ।​

चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बतए।  शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । 

कन्या राशिमा सूर्य गएपछि अर्थात असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानीमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।​

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको हाे । 

गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ। यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।

यसरी दुईतीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलासयमा लगी सेलाइन्छ। जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्