sevenstartv.com ५ पुष २०८२, शनिवार

टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार

१२ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ । ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।

बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगेको थियो । उक्त कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । उनी तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।

तर गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेको प्रहरीले जनाएको छ । 

उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।उद्धार कार्यमा प्रहरी हबल्दार उमेश कुमार लोहनी, प्रहरी सहायक हबल्दार समिर विक, प्रहरी जवान सुमन थापा, लम्जुङ घर भई टोखा बस्ने १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङ संलग्न थिए । अर्जुनको खुट्टामा र राजुको हातमा सामान्य चोट लागेको छ ।

खोलामा बगेको कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो । सो कारलाई प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्