sevenstartv.com ६ पुष २०८२, आइतवार

सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

२१ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । वर्षाका कारण भक्तपुरको सूर्यविनायक-जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जनाइएको छ ।

भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको प्रहरीले जनाएको छ ।

भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।

गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्