साँगा अन्डरपासको काम पुग्यो अन्तिम चरणमा
काठमाडौँ । पूर्वी नेपालबाट काठमाडौं उपत्यका भित्रिने र काठमाडौंबाट पूर्वी नेपाल जाने प्रमुख नाका साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशतले सम्पन्न भएको छ । मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माणको काम पूर्ण रूपमा सकिएसँगै सो रुटबाट यात्रा गर्न थप सहज र सुरक्षित हुने निश्चित भएको छ।
अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाकै सबैभन्दा महत्त्वपूर्ण र आकर्षक हिस्सा मानिएको यो आधुनिक संरचनाले विगतमा यात्रीहरूले भोग्दै आएको सास्तीलाई इतिहास बनाउने विश्वासको रुपमा लिइएको छ ।
यो आयोजना पूर्ण रूपमा सम्पन्न भए पश्चात काठमाडौँ र भक्तपुरतर्फबाट बनेपातर्फ प्रश्थान गर्ने सवारीसाधनहरू अन्डरपासको सुलभ मार्ग भएर गुड्नेछन् भने बनेपातर्फबाट काठमाडौँ आउने गाडीहरूले माथिल्लो सडक प्रयोग गर्दै आउँने छन् ।
पहिलो खण्डको तुलनामा साँगादेखि धुलिखेलसम्मको सडक निर्माणको काम निकै द्रुत गतिमा अगाडि बढि रहेको छ। आयोजना स्रोतका अनुसार, समग्र आयोजनाको भौतिक प्रगति नै ९५ प्रतिशतको हाराहारीमा पुगिसकेकाले यसै वर्षभित्र सडकको सम्पूर्ण काम पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
साँगा अन्डरपास निर्माणसँगै अरनिको राजमार्गमा यात्रा गर्ने आम सर्वसाधारणको समय बचत हुनुका साथै यातायात व्यवस्थापनमा यो पूर्वाधार एउटा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेमा ढुक्क हुन सक्ने अवस्थाको सिर्जना भएको छ ।




















