धनकुटामा १९ जना कांग्रेसद्वारा पार्टी परित्याग
विराटनगर । नेपाली कांग्रेस भित्र मौलाएको आन्तरिक कलह र मतभेदका कारण तमाम कार्यकर्तामाथि नराम्रो असर पर्न थालेको छ । कांग्रेसका नेता, कार्यकर्ता नेतृत्वको गतिविधिका कारण निराशा मात्र भएका छैनन् नेतृत्वको कार्यशैली माथि प्रश्न उठाउँदै पार्टी परित्याग गर्न समेत थालेका छन् ।
धनकुटामा कांग्रेसका १९ जना नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी पार्टी परित्याग गर्नेहरुमा महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्लीसहित धनकुटाका १९ जना नेता कार्यकर्ता रहेका छन् ।
उनीहरुले सभापति गगन थापालाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी छाड्नेहरूमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई लगाएत रहेका छन् ।
उनीहरूले पार्टी भित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको सभापति थापालाई लेखेको पत्रमा उल्लेख छ । पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूले अबको यात्राबारे केही सार्वजनिक गरेका छैनन् । तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जानसक्ने आन्तरिक चर्चा भने रहेको छ ।


















