sevenstartv.com २७ जेठ २०८३, बुधवार

सरकार र संसदको कार्यशैली अपरिपक्क : प्रतिपक्षी दल

२५ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टी सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले सरकार र संसदको कार्यशैली अपरिपक्क रहेको भन्दै असन्तुष्टि जनाएका छन् । रास्वपा को बहुमत प्राप्त सरकारले प्रतिपक्षलाई पेलेरै अघि बढिरहेका कारण संघीय संसदका दुवै सदनमा गतिरोध देखिएको छ ।

गतिरोध अन्त्यका लागि सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेले सोमबार बैठक बोलाएका हुन् । लामिछानेले रास्वपाका तर्फबाट हालै भएको भारत भ्रमणबारे जानकारी गराउँदै सरकारका कामकारबाहीबारे सुझाव मागेका थिए । नयाँ निर्वाचन र नयाँ सरकार गठन भएपछि पहिलो पटक बसेको सर्वदलीय बैठक हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका सभापति वा अध्यक्षसहित दुई दुई जना नेताहरूलाई आमन्त्रण गरिएको भए पनि, प्रमुख दलका शीर्ष नेताहरूले नै उक्त बैठकमा सहभागीता जनाएनन् । सो बैठकमा सीमा सम्बन्धमा प्रधानमन्त्रीको मन्तव्य तथा रास्वपा सभापति लामिछानेले भारत भ्रमणका क्रममा ‘विगतको भारी बोक्दैनौँ’ भनी दिएको अभिव्यक्तिमाथि समेत प्रतिपक्षी दलका नेताहरूले प्रश्न उठाएका थिए ।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महरको सहभागीता रहेको थियो । यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजकद्वय माधवकुमार नेपाल र वर्षमान पुन तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहेको थियो। कांग्रेस, एमाले, नेकपा लगायतका दलहरूबाट शीर्ष नेतृत्वको सट्टा अन्य नेताहरूले बैठकमा प्रतिनिधित्व गरेका थिए । 

सम्बन्धित समाचार