भदौ घटनाको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग
किन र कसको स्वार्थमा रोकियो ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारसँग भदौ २३ र २४ गतेको घटना छानबिन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक आग्रह गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्ने क्रममा सांसद केसीले हिंसात्मक घटनाको छानबिन गर्न माननीय लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको भन्दै प्रश्न गरेका छन् ।
सो घटनाका बारेमा के भएको हो भनि सत्य तथ्य संसद्ले जानकारी पाउनुपर्नेमा उनले जोड दिएका छन् । २४ गते करिब १२ घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुहुरा बनेको स्मरण गर्दै उनले भनेका छन्, यस्तो कहिल्यै नदोहोरियोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्छ, जनता त्यो चाहन्छन् । यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्क्याउने र छलकपट गर्ने काम नहोस् । तुरुन्त सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम हदैसम्मको कडा कारबाही होस्।’
सांसद केसीले उक्त घटनाको निष्पक्ष छानबिन गर्नका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक नहुनुको रहस्य र सो प्रतिवेदन सार्वजनिक सरकारले आननाकानी गरेको भन्दै यस तर्फ सरकारको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिएका छन्।
