राज्यकोषको दोहोरो दोहन गर्ने माथि डन्डा लगाउँदै सरकार
काठमाडौं । राज्य कोषको दोहन गरेर दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिको अन्त्य र त्यस्ता कार्य माथि अकुंश लगाउनुका साथै उक्त खाले कार्यलाई नियन्त्रण गर्नका लागि सरकारले सक्रियता देखाएको छ । राज्य संयन्त्रमा देखिएका तमाम विकृतीलाई मध्यनजर गर्दै सरकारले राज्यकोषको दोहोरो दोहन गर्ने माथि डन्डा लगाउने भएको हो ।
गृह मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र मार्फत पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण बुधबार नै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको जनाइएको छ।
प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि मंगलबार गृहसँग स्पष्ट विवरण माग गरिएको हो ।
विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोत–साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो ।
