sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संविधान दिवसमा हजार बढी कैदीको बाँकी सजाय मिनाह हुँदै

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले आगामी असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गर्ने तयारी गरेको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । थुनामुक्त हुनेहरूको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ।

विभागले यसअघि गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो । ती ६२० जना छुट्न बाँकी नै छ । विभागले मंगलबार थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचीसहित  ७ दिने सूचना निकालेको छ ।

सजाय मिनाहा गर्न लागिएका कैदी बन्दीहरूविरुद्ध उजुरी वा गुनासो भए विभागमा उपलब्ध गराइदिन भनिएको छ । विभागले गत असार ९ गते र भदौ १६ गते सूचना निकालिएका कैदीहरूलाई संविधान दिवसका दिन माफी मिनाहाका लागि एकसाथ सिफारिस गरिने जनाएको छ ।

सरकारले खासगरी जेठ १५ गतेको गणतन्त्र दिवस र असोज ३ गतेको संविधान दिवसमा अनुशासन र आचरण हेरेर सयौँ कैदीलाई रिहा गर्दै आएको छ । तर यस पटक  गत जेठ १५ गतेको गणतन्त्र दिवसका दिन पनि कैदीको सजाय माफी मिनाहा हुनुपर्ने थियो ।

सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनमा जाँदा रिहा गर्न सकिएको थिएन । अब अहिले नामावाली प्रकाशित गरेर एक हजारभन्दा धेरै कैदीको सजाय माफी गर्न लागिएको हो । सूचना अनुसार परेका उजुरीका आधारमा विभागले असार ९ मा प्रकाशित ६२० जनाबाट १९ जनाको नाम हटाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्