सुकुमबासीहरूको पहिचान गरी जग्गा वितरण गर्छौ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले वर्षौँ पुरानो समस्याको स्थायी समाधानका लागि आफू नेतृत्वको सरकारले काम गर्न लागेको बताएका छन् । प्रधानमन्त्री शाहले देशभरका वास्तविक सुकुमबासीहरूको पहिचान गरी यथाशक्य चाँडो जग्गा वितरण गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
आफ्नो आधिकारिक फेसबुक पेजमा शुक्रबार एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुमबासी समस्याको स्थायी समाधान गर्ने योजना सहित सरकारले यो कदम चालेको प्रष्ट पारेका हुन् । प्रधानमन्त्री शाहले थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीयतालाई ख्याल गर्दै र बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको बताएका छन् ।
सो स्थानका बस्तीहरूका कारण ढल निकासमा अवरोध पुग्दा काठमाडौँ फोहोर र नदीहरू दुर्गन्धित भएको धारणा सार्वजनिक गर्दै उनले स्थानान्तरणले उपत्यकाको सौन्दर्य र व्यवस्थापनका लागि अपरिहार्य रहेको जानकारी गराए । प्रधानमन्त्री शाहले अतिक्रमणकारी र वास्तविक सुकुमबासीबीच सरकारले फरक छुट्टयाउनेमा विश्वस्त रहन सबै समक्ष आग्रह गरेका छन् । काठमाडौँका खोला किनार र देशका अन्य भागको समस्या भिन्न खालका रहेको बताउँदै उनले भनेका छन्, हामी अतिक्रमणकारी र सुकुमबासी छुट्याएरै छाड्छौँ र वास्तविक पीडितहरूका लागि प्रक्रिया पुर्याएर जग्गा वितरण गर्छौँ ।
नदीकिनारमा बसोबास गर्नेहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले भनेका छन्, उनीहरूको स्थानान्तरण आवश्यक छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियतिको अन्त्यका लागि ययो कदम चाल्नु पर्यो । सुकुमवासीले ओगटेको स्थान खाली गरि जोखिमरहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार रहेको प्रधानमन्त्री शाहले भनाई छ ।
प्रधानमन्त्री शाहले भने, सुकुमबासी समस्या समाधान गर्ने विषय आफ्नो चुनावी वाचा र सरकारको १०० दिने कार्ययोजनामा समेत समेटिएको स्मरण गराउदै झापामा उम्मेदवार हुँदा गरेको वाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता र सरकारको ‘१०० वटा गर्नै पर्ने काम’ अन्तर्गत सुकुमबासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने बुँदा हामीले बिर्सिएका छैनौँ ।
