प्रलोपाबाट बाहिरिए सुदन किराँती
पार्टीको साधारण सदस्यसमेत त्याग
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आबद्द भएको छोटो अवधिमा नै सुदन किराँतीले पार्टीको साधारण सदस्यसमेत त्याग गरेका छन् । उनले १८ चैतमा अध्यक्ष परिषदको सदस्यबाट राजीनामा दिएका थिए । किराँतीले आज पार्टीको साधारण सदस्य समेत नरहने जनाउँदै पार्टी परित्याग गरेका छन् ।
सामाजिक सन्जाल फेसबुक मार्फत उनले आफ्ना भनाइ सार्वजनिक गर्दै भनेका छन्, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
माओवादी र एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि उनी जनार्दन शर्मालगायतसँगै प्रलोपामा लागेका थिए । उनले संगठनसँगको औपचारिक सम्बन्धर जिम्मेवारीबाट अलग रहे पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास व्यक्त गरेका छन् ।
उनले जनसमुदायको भरोसा र शहीदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने बाचा बाचा गरेका छन् । उनले भनेका छन्, मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।
