sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

पार्टीको वृहत एकताका पक्षमा उभियौं : डा.शशांक कोइराला

३ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । पछिल्लो समय कांग्रेसमा देखिएको विवाद र त्यसको निकासका लागि नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला चासो दिएका छन् । उनले पार्टीको वृहत एकताका पक्षमा उभिन सम्पूर्ण नेताकार्यकर्तामा आह्वान गर्दै पार्टीभित्रको विवादलाई लिएर बिहीबार एक विज्ञप्ति जारी गरेका छन् । नेता कोइरालाले मूल घरलाई तहसनहस पारेर परिवारका सदस्यबीच वैमनश्यता बढाइ गरिएको रूपान्तरणको अर्थसमेत नरहेको जिकिर गरेका छन् ।

अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्राय रहेको उनको भनाई छ । पार्टीमा बृहत एकता कायम गर्न, गराउन अत्यावश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफु पनि प्रयत्नशील रहेको स्पक्ष्ट पारेका छन् । नेता कोइरालाले कांग्रेसमा पछिल्लो समय उत्पन्न मतभेदप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘लोकतन्त्रको जीवन्त अभ्यास गर्दै आएको ऐतिहासिक पार्टीको महत्व लोकतन्त्र र राष्ट्रियता दुवैका लागि हिजो थियो, आज छ र भोली पनि रहिरहनेछ उक्त विज्ञप्तीमा भनिएको छ । जीवन्त पार्टीभित्र सैद्धान्तिक मतभिन्नता हुनु स्वभाविक रहेको बताउँदै उनले पटकपटक भएका आन्दोलन र विद्रोहपछि समयानुकुल रूपमा पार्टीका गतिविधि रूपान्तरित हुनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको उल्लेख गरेका छन् । इतिहासको कालखण्डमा अनेक आरोह–अवरोह बेहोर्दै आएको पार्टी यतिबेला इतिहासकै सबैभन्दा कमजोर अवस्थामा रहेको समेत उनको भनाई छ । ‘यस्तो बेलामा उत्पन्न आन्तरिक विवादले पार्टी भित्र मात्रै होइन नभएर सिंगो मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुग्न सक्ने जोखिम बढिरहेको जनाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ, यस्तो प्रतिकूल अवस्थामा तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य छ । नेता कोईरालाले मूल घर नै तहसनहसको अवस्थामा पुग्दासमेत परिवारका सदस्यहरूबीच वैमनश्यता कायम राखेर रुपान्तरणको कुनै अर्थ नरहेको जिकिर गरेका छन् ।  पछिल्लो समय कांग्रेसमा रूपान्तरण आवश्यक रहे पनि त्यसैका नाममा भएका गतिविधिले कांग्रेस कुन अवस्थामा पुग्यो भन्ने कुरालाई समग्र कांग्रेसीले ख्याल गर्नु पर्ने उनको भनाइ छ। कांग्रेसको आधिकारीकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ ।

नेता कोइरालाले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने संकेत गरेका छन् । यस्तै नेता कोइरालाले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिकको अर्थ नरहेको समेत स्पष्ट पारेका छन् ।

क्रियाशील सदस्यतामा अद्यावधिकको नाममा हुने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शिता प्रभावित हुने देखिएको उनको दाबी छ । ‘अझै पनि नेपाली काग्रेस सैद्धान्तिक र वस्तुगत रूपमा विभाजित भएको छैन भन्ने कुरामा म विश्वस्त छु र आम कांग्रेसजनलाई त्यो अनुभूत गराउँदै पार्टीको बृहत एकताका पक्षमा उभिन सबैलाई अपील गर्दछु,’ कोइरालाको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्