आज तीजको दर खाने दिन
काठमाडौं । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन् । भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ ।
दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ । पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका छन् । दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ ।
विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।






