आजका प्रमुख सात समाचार
प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलिय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्उ ।
पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलिय शासनतिर लान खोजिएको बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए ।
प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए । प्रधानन्त्रीले वृहत शान्ति सम्झौताको विपरित बोल्नुभएको उनले बताए । उनले नेकपा हुँदा दस्तावेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए ।
प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजिपती, विचौलिया र माफियाहरुको पक्षमा छ भन्ने स्पष्ट भएको बताउनु भयो ।।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए । उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए।
उनले चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको बताए । उनले एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताए ।
यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताए ।
सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताए ।
प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताएका छन् ।
दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उनले नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसारको उचित वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताए ।
उनले बसाईंसराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक रहेको जनाए । उनले हरेक निर्वाचनले जनताको इच्छा र आकंक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको पनि जनाए ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्नसके आम जननाको मताधिकारको सम्मान हुने उल्लेख गरे ।
प्रकाशशरण महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन् ।
जनकपुरधाममा अयोजित एक कार्यक्रममा बोल्दै महतले कांग्रेस—एमालेबीच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशीतालाई कमजोर गर्नेगरी संविधान संशोधन नहुने प्रतिवद्धता जनाए । उनले नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको बताए । उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने बताए ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले अहिलेको सरकारले देश र जनताप्रति केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए । सांसद महतले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्युन हुनु चिन्ताको विषय रहेको बताए ।
सुनुवाइ सर्यो
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई लम्बिएको छ ।
एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक आगामी भदौ २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको हो ।
गत आइतबारबाट सुरु भएको राजदूतहरूको सुनुवाई बुधबारसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ ।
अझै तीन जना प्रस्तावित राजदूतहरुको सुनुवाई हुन बाँकी छ । बुधवार दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना पेस गरेका छन् ।
शिक्षा समिति
संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रृटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले आम जनता र सम्बन्धित विद्यार्थीहरुलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देशन दिएको हो ।
परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भिर त्रृटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
समितिले तत्काल छानविन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ ।
पलेशालाई सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।
शीतल निवासमा आयोजित एक कार्यक्रमबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
यस्तै पलेशा गोवर्धन र नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
एनसेलले पलेशालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
यस्तै काठमाडौं महानगरले पनि पलेशालाई ५ लाखसहित सम्मान गरेको छ । प्रशिक्षकलाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको छ ।
पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । आजै पलेशालाई काठमाडौं फर्किएपछि भव्य स्वागत गरिएको छ ।
उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेपछि नगर परिक्रमा गराइएको थियो । ओलम्पिक वा पारा ओलम्पिकमा औपचारिक पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
पेरिस पारा ओलम्पिकको पारा तेक्वान्दोतर्फ महिला के–४४ विधाको ५७ केजी मुनिको तौल समुहमा पलेशाले कास्य पदक जितेकी हुन् ।






