विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-६ लेखपानी घर भएका ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका(२ घर भई काठमाडौं टोखा नगरपालिका(१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी पक्राउ परेका हुन् ।
बुद्धले ७ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले ६ जना पीडितहरूबाट १२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भनी पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।
उक्त उजुरीपछि खटिएको प्रहरीले बुद्धलाई काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-७ बाट र मान बहादुरलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






