समानुपातिकतर्फका राजनीतिक दलले पाए चुनाव चिह्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ। आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो ।
सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए । यो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भएपनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम भएको भट्टराईले जनाए ।
आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसङ्ख्या र निर्वाचन चिह्न प्रदान गरिएको जनाएको छ। अन्यका हकमा दर्ताका आधारमा चिह्न प्रदान गरेको छ । आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिह्न निर्धारण गरेको छ ।
त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिह्न रहनेछन् । यसैगरी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गरेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया (जाँतो) चुनाव चिह्न पाएको छ ।
नेकपा मार्क्सवादी, नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिह्न पाएको आयोगले जनाएको छ।

.gif)