काठमाडाैं र सुदूरपश्चिम भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको काठमाडौं उच्च मनोबलका साथ दोस्रो खेलमा सहभागी हुनेछ ।
साविक उपविजेता सुदूरपश्चिमसँगको खेल काठमाडौंका लागि महत्त्वपूर्ण बन्नेछ । काठमाडौं र सुदूरपश्चिम खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाडौंका कप्तान करण केसी हुन् भने सुदूरपश्चिमको नेतृत्व अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।
काठमाडौंको कप्तानी करणले गर्दा उनलाई मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठले साथ दिँदैछन् । सुदूरपश्चिममा कप्तान दीपेन्द्रसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा समेटिएका छन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ ।
एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ । एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।
एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

.gif)