sevenstartv.com २१ मंसिर २०८२, आइतवार

आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफामा गिरावट आएको छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा १८ प्रतिशत बढीले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आवको पहिलो त्रैमासिक अवधिमा १३ अर्ब १४ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा ती बैंकहरूले १६ अर्ब १८ करोड बढी खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै २८९.७७ प्रतिशतले वृद्धि भएको छ । सो बैंकले समीक्षा अवधिमा ५८ करोड ९७ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जबकि बैंकले अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १५ करोड १३ लाख २ हजार रुपैयाँ मात्रै गरेको थियो ।

तर, समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा भने ग्लोबल आईएमई बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ गरेको छ । जबकि बैंकले अघिल्लो आवको सोही अवधिमा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा ग्लोबल आईएमई बैंक, सानिमा, एनआईसी एशिया र एभरेष्ट बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा नाफामा वृद्धि गरेको तथ्यांकले दोखाएको छ । तर, अरु सबै वाणिज्य बैंकको नाफामा भने गिरावट आएको छ ।

चालु आवको पहिलो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही आवको अवधिको तुलनामा सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा सबैभन्दा धेरै गिरावट भएको छ । समीक्षा अवधिमा सो बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँले घाटामा पुगेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा सो बैंकले १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्