सिन्धुलीमा कार दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौं जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ ।
दुर्घटनामा परी एकै परिवारका तीनजना घाइते भएका थिए । मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनापछि प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगेको थियो । उपचारका लागि अस्पताल लगिए पनि ओमबहादुरको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतकका श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको छ । उनका छोरा ३१ वर्षीय निशान्त अर्जेलको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

.gif)