आगामी निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न उपसभामुख रानाको आग्रह
सबै नागरिकबीच एकताको भावना स्थापना गर्नुपर्ने कुरामा जोड
काठमाडौं । उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न आग्रह गरेकी छन् ।
उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्व–२०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सो आग्रह गरेकी हुन् । उनले भनिन्, 'छठ पर्वको अवसरमा हामी सबैले एक–अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने सङ्कल्प लिनुपर्छ ।'
नेपाल विविध भाषा, संस्कृति र धर्मसँगै बसोबास गर्ने समुदायको साझा घर भएको उल्लेख गर्दै उनले हरेक समुदायले आफ्नो आस्थाअनुसार चाडपर्वहरू मनाउनु र अन्य समुदायका पर्वहरूमा हार्दिकतापूर्वक सहभागी हुनु हाम्रो एकताको सुन्दर परिचय भएको बताइन् । नेपालको संविधानले यस्तै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतालाई आत्मसात् गर्दै सबै नागरिकबिच सम्मान र एकताको भावना स्थापनाको आधार तयार गरेको उपसभामुख रानाको भनाइ छ ।

.gif)