sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

९ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू मा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने भएकाे छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ । नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो ।

तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी-२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ । नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो । यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो । त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट लिग टूको प्रतियोगिता ।

सन् २०२४ मा सुरू भएर २०२७ सम्म सञ्चालन हुने विश्वकप लिग टूमा अहिले आधाभन्दा धेरै खेल सकिएका छन् । नेपालले भने खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेको छ । १६ मध्ये पाँच खेलमात्रै जितेको नेपाल अहिले तालिकाको सातौं स्थानमा छ । यता अमेरिकाले भने २० खेलबाट २८ अंक जोडिसकेको छ । नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएका छन् । त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन् । तर पछिल्ला पाँच खेलमा नेपालले एक मात्र जित हासिल गर्न सकेको छ । सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई पछिल्लो पटक हराएको थियो ।

त्यसपछि अमेरिकाले नेपालविरूद्ध दुई जित निकालिसकेको  छ। यी दुई टिमबीच यूएईमा पहिलो पटक खेल हुन लागेको हो। यसअघि नेपालले यूएईको सारजाहमा वेस्ट इन्डिजलाई नै हराएको थियो । यो सिरिज सुरू हुनुभन्दा एक हप्ता अघि नै नेपाली टिम यूएई पुगेर त्यहाँ अभ्यास गरिरहेको छ । एक महिनाभन्दा लामो यूएई र ओमान बसेको नेपाली टिमले त्यहाँको वातावरणमा राम्रो तयारी गरेको बताएको छ ।

यसअघिको टोलीमा रहेका दुई खेलाडीलाई परिवर्तन गरेर अमेरिकाले लिग टूका लागि आफ्नो टोली घोषणा गरेको छ । अमेरिकी टोलीमा एन्ड्रियस गौस, कप्तान मोनांक पटेल, सौरभ नेत्राभल्करजस्ता उत्कृष्ट खेलाडी छन् । विश्वकप छनोटमा ब्याटिङमा आशातित प्रदर्शन गर्न नसकेको भए पनि बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको नेपाली टिममा अहिले दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दिप लामिछाने उत्कृष्ट र्फममा छन् ।  रोहित पौडेलले केही खेलमा राम्रो गरे पनि उनी कन्सिस्टेन्ट देखिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्