sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

२५ वर्षदेखि सञ्चालनमा रहेको पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द

८ कार्तिक २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द भएको छ । आन्दोलनका क्रममा भदौ २३ र २४ गते होटल परिसरमा भएको तोडफोड र आगजनीका घटनाले संरचना, उपकरण र सुरक्षासम्बन्धी संयन्त्रमा ठूलो क्षति पुगेको भन्दै होटलले सम्पूर्ण व्यवसायिक सेवा स्थगित गरेको हो ।

होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनद्वारा जारी सूचनामा मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएका सम्पूर्ण व्यवसायिक सेवा तत्कालका लागि बन्द गरिएको उल्लेख गरिएको छ । होटल व्यवस्थापनले ट्रेड युनियनसँग छलफल गरी श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिने निर्णय गरेको जनाएको छ । मर्मत तथा पुनर्निर्माण कार्य पूरा भएपछि मात्रै होटल पुनः सञ्चालनमा ल्याइने होटलको भनाइ छ ।

सन् २००० देखि सञ्चालनमा आएको हायात रिजेन्सी काठमाडौं देशकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो । नेपाली कला, वास्तुकला र सांस्कृतिक सौन्दर्य झल्किने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यो होटलमा ३०३ कोठा छन् । देशी–विदेशी पर्यटक, सरकारी पाहुना र अन्तर्राष्ट्रिय सम्मेलनका लागि यो होटल लामो समयदेखि प्रमुख गन्तव्य बन्दै आएको छ ।

होटलले करिब ५०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने होटलका रूपमा आन्तरिक राजस्व विभागले हायात रिजेन्सीलाई सम्मान गरेको थियो । यसअघि पनि आर्थिक वर्ष २०७१/७२, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा हायात रिजेन्सीले पर्यटन क्षेत्रको उत्कृष्ट करदाता पुरस्कार पाइसकेको छ। नेपाल सरकारले पनि यस होटललाई विदेशी मुद्रा संकलनमा उच्च योगदान पुर्‍याएको भन्दै २०७६ सालमा विशेष सम्मान गरेको थियो ।

दश वर्षे सशस्त्र द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरिएको हायात होटल द्वन्द्व उत्कर्षमा पुगेको समयमा सन् २००० मा सञ्चालनमा आएको थियो । राजनीतिक अस्थिरता र आर्थिक चुनौतीका कारण केही वर्ष घाटामा चलाए पनि शान्ति स्थापनापछि छोटो अवधिमै नाफामा फर्किएको थियो । नेपालको उच्चस्तरीय आतिथ्य सेवा र ‘हाइ इन्ड’ पर्यटक आकर्षणमा अग्रस्थानमा रहेको हायात रिजेन्सीको अनिश्चितकालीन बन्दले पर्यटन उद्योगमा गम्भीर असर पर्ने आशंका गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्