हमासले बुझाएको शव विपिनकै भएको पुष्टि
काठमाडाैं । हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा नेपाली २४ वर्षीय युवक विपिन जोशीकै भएको पुष्टि स्वास्थ्य परीक्षणले गरेको छ ।
जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाले (आईडीएफ) ले मंगलबार मृतकमध्ये गाई इलुज र विपिन जोशीका अवशेष प्राप्त भएको जनाएको छ । हमासले रेडक्रसमार्फत् बुझाएका शवका अवशेषमध्ये गाई इलुज र विपिनको भएको पुष्टिपछि आईडीएफले परिवारलाई जानकारी गराएको छ ।
इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरिएको हो। उक्त प्रक्रिया इजरायल प्रहरी र सैनिक रब्बिनेटको सहकार्यमा सम्पन्न गरिएको आईडीएफले जनाएको छ ।
गाई इलुजलाई जिउँदै अपहरण गरिएको थियो । उनको बन्धक अवस्थामै उपचार नपाएका चोटका कारण उनको मृत्यु भएको हुन सक्ने आईडीएफले जिकिर गरेको छ । उता नेपाली युवक विपिन जोशीको भने बन्धक अवस्थामै हत्या गरिएको हुन सक्ने विश्वास इजरायली सेनाले गरेको छ । यद्यपि यस कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

.gif)