वीर अस्पतालका कर्मचारीलाई अनुशासनमा बस्न कडाइ
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले सेवा प्रवाहमा सुधार ल्याउन र कर्मचारीहरूमा अनुशासन कायम गर्न कडा कदम चाल्दै १२ बुँदे निर्देशन जारी गरेको छ ।
अस्पतालले आफ्ना चिकित्सक, नर्स, पारामेडिक्स, प्रशासनिक तथा अन्य कर्मचारीहरूलाई लक्षित गर्दै १२ बुँदे निर्देशन जारी गरेको हो । अस्पतालले बुधबार जारी गरेको सूचनामा पछिल्लो समय कर्मचारीहरूबाट अनुशासनहीन व्यवहार प्रदर्शन भई सेवामा नकारात्मक असर परेको उल्लेख छ ।
देशको एक प्रमुख चिकित्सा शिक्षा तथा सेवा प्रदायक संस्थाका रूपमा रहेको वीर अस्पतालमा दैनिक सेवा प्रवाहमा देखिएका कमीकमजोरीलाई सुधार्न निर्देशन जारी गरिएको हो ।
वीर अस्पतालले जारी गरेको १२ बुँदे निर्देशनका मुख्य बुँदाहरुः
१. बिरामी तथा सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार गर्ने ।
२. कार्यालयको निर्धारित समयमा उपस्थित भई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने ।
३. कार्यालय समयावधिमा खाजा/खाना खानु परेमा तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्ने ।
४. बिना स्वीकृति वा सेवामा असर पर्ने गरी बिदा नलिने ।
५. चिकित्सक/स्वास्थ्यकर्मीहरुले कार्यालय समयबाहिर अस्पताल बाहिर निजी अस्पताल/क्लिनिकमा बिरामी जाँच्न नपाउने ।
६. अस्पताल बाहिर ओपिडी पसल, ल्याब, इमर्जेन्सी सेन्टर आदि नखोल्ने ।
७. अस्पतालमा हुने परीक्षणहरू अस्पतालले नै व्यवस्था मिलाउने ।
८. बिरामीहरूलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर नगर्ने ।
९. ओपिडी वा बिरामी नछोडी कार्यस्थलमै रहने, निर्धारित समय अगावै नजाने ।
१०. कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग नगर्ने ।
११. बिरामीहरूलाई कुनै खास ब्राण्डको औषधि तथा उपकरण खरिद गर्न बाध्य नपार्ने ।
१२. तोकिएको एप्रोन/पोसाक/आइडी कार्ड लगाएर मात्र सेवा प्रदान गर्ने ।

.gif)