खुल्यो अरनिको राजमार्ग
काठमाडौं । पहिरोका कारण एक महिनादेखि पूर्णरुपमा अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । बाह्रबिसे–कोदारी खण्डको विभिन्न पाँच ठाउँमा खसेको पहिरो हटाएर छिमेकी चीनसँग जोडिएको नेपालको उत्तरी नाकाको ट्र्याक खोलिएको हो ।
तर सवारी साधन अझै सञ्चालनमा आइसकेका छैनन् । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएर पहिरो पन्छाएको हो ।
सडक खुलाउन पटक–पटक पहिरो पन्छाउनुपर्ने हुँदा पहिरोले लेदो बग्ने र जमिन चर्किएर पहिरो माथिको करिब दुई सय घर धुरी जोखिममा परेका थिए । स्थानीयले समस्याको दीर्घकालीन समाधान नगरी पहिरो नहटाउन भनेपछि काम रोकिएको थियो । सो निर्देशनपछि असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो ।
पहिरोको दीर्घकालीन समाधानका लागि कात्तिक मसान्तमा ठेक्काको सूचना निकाल्ने र असार मसान्तसम्मभित्र काम सुरु गर्ने सहमति भएको छ । सो सहमतिसँगै सडक डिभिजन कार्यालयले ७ दिनभित्र सडक खुलाउने लक्ष्यअनुसार कामलाई तीव्रता दिएको थियो ।

.gif)