रौतहटमा जेनजी आन्दोलनका क्रममा २० करोडभन्दा बढीको क्षति
काठमाडौं । रौतहट जिल्लामा भएको जेनजी आन्दोलनले ठुलो भौतिक क्षति पुर्याएको छ । जसको प्रारम्भिक अनुमान २० करोड रुपैयाँभन्दा बढी रहेको छ ।गत २४ गतेको देशव्यापी प्रदर्शनका क्रममा रौतहटमा हिंसात्मक घटना भएका थिए, जसमा सरकारी संरचना, स्थानीय निकायका कार्यालय, प्रहरी एकाइ र जनप्रतिनिधिका घरमा समेत क्षति पुगेको छ । आन्दोलनकारीले जिल्लाभरका छवटा स्थानीय तहका कार्यालय र दर्जनौँ सरकारी संरचनाहरू ध्वस्त पारेका छन् ।
तीमध्ये चन्द्रपुर नगरपालिकामा करिब ३ करोड, मौलापुर नगरपालिकामा ५ करोड, कटहरियामा १ करोड र फतुवा विजयपुर नगरपालिकामा ३ करोड ५० लाख रुपैयाँको क्षति भएको अनुमान छ। त्यसैगरी, गौर नगरपालिकामा ६४ लाख, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख र प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसबाहेक, जिल्ला अदालत, मालपोत, करदाता, नापी र अनुसन्धान कार्यालयहरूमा पनि लाखौँ रुपैयाँको क्षति भएको छ ।
आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय, गौरसहित आठवटा प्रहरी युनिटमा आगजनी र तोडफोड गरेका छन्। यस क्रममा चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयमा मात्र करिब २ करोड १४ लाख रुपैयाँको क्षति भएको छ। यस्तै, गरुडा, शिवनगर, हर्षाहा, सुकदेवाचोक, बंकुल र चन्द्रपुर तल्लो बजारका प्रहरी चौकीहरूमा पनि लाखौँ रुपैयाँको क्षति पुगेको छ । यद्यपि, प्रहरीका अनुसार ध्वस्त भएका कार्यालयहरूले अस्थायी रूपमा बाहिरबाटै सेवा दिइरहेकाले सेवा प्रवाहमा ठुलो अवरोध आएको छैन ।
यस आन्दोलनमा राजनीतिक असन्तोषका साथसाथै व्यक्तिगत रिसिइबीको समेत कारण देखिएको प्रारम्भिक छानबिनले देखाएको छ। फतुवा विजयपुरमा वडा अध्यक्ष र शिक्षकको संलग्नता पाइएको छ भने कटहरियामा करार कर्मचारी र गरुडामा विपक्षी समूहहरूको प्रत्यक्ष भूमिका देखिएको छ। यस्ता घटनाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् । रौतहटमा भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन मात्र २० करोडभन्दा बढी रहेकाले विस्तृत विवरण सङ्कलन हुँदा यो रकम अझै बढ्न सक्ने सम्भावना छ । जेनजी आन्दोलनको आडमा भएको आगजनी र लुटपाटको गहिरो छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ ।

.gif)