आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै
काठमाडौं । दूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन शनिबार व्रतालु गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौराअर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालुले विशेष दिनको रूपमा लिने गरेका छन् ।
बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । ‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर बर्तालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । व्रतालुले धारण गर्ने विशेष प्रकारको धागोअर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
साउ, अपामार्ग, तिललगायत वनस्पतिले गौराको प्रतिमूति बनाइ पूजाआजा गर्ने चलन रही आएको छ। खेतबारीबाट साउ, अपामार्गलगायतका वनस्पतिको प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको छ ।
गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी बर्तालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्य दिन भोलि गौराष्टमीअर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने चलन रही आएको छ। सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशिएकाहरू पनि घर फर्किने गर्छन् ।

.gif)