पर्वतका ७४ हजार बढी पशुलाई विभिन्न रोग विरुद्धका खोप
काठमाडाैं । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई विभिन्न रोगहरू विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार एक वर्षको अवधिमा जिल्लाका सात वटा स्थानीय तहका ७४ हजार ६२६ पशुलाई तीन प्रकारका खोपहरू दिइएको हो ।
खोप पाउने पशुमा कुश्मा नगरपालिकाका १३ हजार ११३, फलेवास नगरपालिकाका १३ हजार ९८९, जलजला गाउँपालिकाका १० हजार २८८, मोदी गाउँपालिकाका १२ हजार ७५५, महाशिला गाउँपालिकाका आठ हजार ८७२, बिहादी गाउँपालिकाका छ हजार ८४१ र पैयुँ गाउँपालिकाका आठ हजार १६९ रहेका छन् ।
गाई भैँसी भेडा बाख्रा बंगुरमा लाग्ने रोग बिरुद्धको एफ.एम.डी, भेडाबाख्रामा महामारीजन्य रोगको रुपमा लाग्ने रोग बिरुद्ध पि.पि.आर र रेबिज रोग बिरुद्धको खोप ए.आर.भी गरी तीन प्रकारका खोपहरू झण्डै ९० लाख रुपैयाँको लागतमा लगाइएको प्राविधिक परियारले बताए। पि.पि.आर खोप विगतदेखि नै सरकारले दिँदै आएकाले कृषकहरूले किन्नु नपर्ने गरी निःशुल्क रुपमा नै पशुलाई लगाउने गरिएको छ । एआरभी (एन्टी रेबिज भ्याक्सीन) कुकुरलाई लगाउने खोप हो।
नेपाल सरकारले सन २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट हुने मृत्यूलाई शून्य बनाउने लक्ष्य अनुसार यो खोप लगाउने गरिएको छ। गाई, भैँसी र, बंगुर लगायतमा लाग्ने रोग विरुद्धको एफ.एम.डी खोप जिल्लामा २०७७ सालदेखि लगाउन सुरु गरिएको हो। विगतमा गाउँका किसानको पहुँचमा खासै नपुगेको यो खोप व्यवसायिक ‘फार्म’ मा पालिएका पशुलाई मात्रै लगाउने र विशेष गरी खोरेत रोग देखिएमा मात्रै लगाउने गरिएको थियो । तर पछिल्लो समयमा भने प्रदेश सरकारमार्फत सवै वडाहरूमा पुगेर अनिवार्य रुपमा पशुलाई यो खोप दिने गरिएको छ ।
जिल्लाका सबै स्थानीय तहहरूमा करिब एक सय जना खोपकर्ताहरू परिचालन गरेर कुनै ठाउँमा पनि नछुट्ने गरी खोप अभियान सञ्चालन गरेको बताउँदै प्राबिधिक परियारले खोप नलगाएर पशुहरू असुरक्षित हुने र कृषकलाई ठूलो क्षति हुन सक्ने जोखिम रहेको बताए। कतिपय ठाउँमा रोग लागेपछि मात्रै उपचारको लागि खोप दिने हो भन्ने मान्यता रहेका कारण बुझाउन समस्या हुने गरेको बताउँदै उनले पछिल्लो समयमा भने कृषकहरू पूर्व सावधानीको विषयमा सचेत रहेको जानकारी दिए। ब्याउने अवस्थाका, बिरामी, चोटपटक लागेर अन्य प्रकारको औषधिको प्रयोग भइरहेका, भर्खर बाली भएको अवस्थामा रहेका पशुहरूबाहेक अन्य सबै पशुले यो खोप पाएको परियारले बताए ।
जिल्लाका ६१ वटै वडाका २० हजार बढी घरमा पालिएका पशुमध्ये २७ हजार ५१५ लाई एफ.एम.डी, ४३ हजार २६५ लाई पि.पि.आर र तीन हजार ६४४ पशुलाई ए.आर.भी खोप लगाइएको हो। विगतका वर्षमा यी खोपहरू लगाउनुको लागि वार्षिक करिब ९० लाख रुपैयाँ खर्च हुने गरेको कार्यालयका निमित्त प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीले बताए। चालु आर्थिक वर्षका लागि भने ८० लाख रुपैयाँ बजेट आएको उनको भनाइ छ।

.gif)