आज पाल्पामा भगवती जात्रा
काठमाडौं । जितगढी युद्धको सम्झनामा आइतबार रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ ।
साढे १२ बजे रथ उठाउने साइत जुरेको छ । पाल्पामा हरेक वर्ष यो जात्रा निकालिन्छ । नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रुपमा भगवती जात्रा निकाल्ने गरिन्छ । यो वर्ष २०६औं संस्करणको रुपमा जात्रा निकाल्न लागिएको हो ।
भगवती जात्रा पाल्पाको एउटा ऐतिहासिक जात्रा हो । वि सं.१८७१र७२ मा जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो । भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकालिने चलन छ ।
युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो । जात्राको अवलोकनसँगै भगवती मन्दिरमा पुजाआरधाना गर्ने कार्यक्रम रहेको छ ।

.gif)