काठमाडौं । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्मदिन मनाउँदैछन् । द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। आफूले कर्मअनुसार नै फल प्राप्त हुन्छ । गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्लेख छ । जन्माष्टमीका दिन भगवान् कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ ।
पौराणिक ग्रन्थहरूमा यो दिन गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ। विशेषगरी द्वादशाक्षरी (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ । नेपाल र भारतमा रहेका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्छ। नेपालमा पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) को मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा पन भक्तजनको घुइँचो लागेको छ।

.gif)