sevenstartv.com ४ पुष २०८२, शुक्रवार

पर्वतारोहण संघलाई चुनावी चटारो, अध्यक्षमा कुलबहादुर गुरुङको दाबी

२९ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । मुलुकमा विभिन्न हिमाल आरोहण गर्नेहरु दुर्घटनामा पर्दा तिनको उद्धारसहित समस्या व्यवस्थापनमा सक्रिय हुँदै आएको निकाय हो नेपाल पर्वतारोहण संघ । पर्वतारोहण संघ यतिखेर नयाँ कार्य समिति छनौटको संघारमा छ । 

संघको नयाँ कार्य समिति चयनको लागि आउने भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा निर्वाचन हुँदैछ । संघको वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, दुई जना महिला सदस्यसहित ११ सदस्य पदका लागि निर्वाचन गर्न लागिएको हो । निर्वाचन नजिकिँदै गर्दा नेतृत्वका लागि विभिन्न व्यक्तिहरुले आकांक्षा व्यक्त गर्न थालेका छन् । पर्यटन क्षेत्रमा सक्रिय कुलबहादुर गुरुङले अध्यक्षमा दाबी गर्ने भएका छन् । 

संघमा यसअघि महासचिवको जिम्मेवारी बहन गरिसकेका गुरुङले बिहीबार पत्रकार सम्मेलन गरेर अध्यक्षमा दाबी गर्ने घोषणा गरेका हुन् । गुरुङले नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ पक्षबाट अध्यक्षमा दाबी गर्न लागेका हुन् । गुरुङले आफ्नो प्यानल छिट्टै घोषणा गर्ने बताएका छन् । अनुभव र साझा नेतृत्वको आधारमा आफूले अध्यक्षमा उम्मेदारी दिन लागेको गुरुङले प्रष्ट्याएका छन् । नेपालको पर्वतीय पर्यटन केवल हिमाल चढ्ने माध्यम होइन, समुदाय सशक्तिकरण, श्रमिक अधिकार र वातावरण संरक्षणको स्रोत हुनुपर्ने गुरुङको भनाई छ । 

संघमा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले टिकाराम गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने बताएको छ भने संघका वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । दुवैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न भने बाँकी छ । निर्वाचन तयारीअन्तर्गत आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ, जसमा उम्मेदवार दर्ता, मतदाता नामावली प्रकाशन, दावी विरोध, अन्तिम उम्मेदवार सूची प्रकाशन लगायत सम्पूर्ण विवरण उल्लेख छ । 

संघको नयाँ नेतृत्व चयनको लागि बनाइएको निर्वाचन समितिले साउन ३० गते  मतदाता नामावली प्रकाशन गर्ने र भदौ १ गतेमा विभिन्न पदमा उम्मेदवार दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । जस अनुसार भदौ ७ गतेमा निर्वाचन गर्ने समितिको योजना छ । मजदुरबाट४ सदस्य पदका लागि निर्वाचन भने भदौ ८ गते गरिने भएको छ ।  

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्