काठमाडौं उपत्यकामा चोरी बढ्दै, सतर्क रहन प्रहरीको आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा चोरीका घटना बढ्दै गएको छ । नेपालका विभिन्न चाडपर्वको बेला सीमापारीबाट महिला तथा बालबालिका प्रयोग गरी चोरीमा संलग्न गराउने समूह सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानका अनुसार साउनको अन्तिम सोमबार पशुपति मन्दिरबाट ३० जना चोर पक्राउ परेका छन् । उनीहरुलाई महिलाको गहना लुट्ने कार्यमा संलग्न भएको कारण पक्राउ गरिएको हो । उनीहरुलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । उपत्यका अपराध अनुसन्धान प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भिडभाडमा बच्चा बोकेका महिला चोरीमा संलग्न भएको पाइएको जानकारी गराएका छन् । उनीहरु कुनै समूहबाट परिचालित भएको हुन सक्ने प्रवक्ता आचार्यको भनाई छ ।
नेपालमा तीजबाट चाडपर्व शुरु हुँदैछ । यतिबेला आर्थिक चहलपहल बढ्ने हुँदा चोरीका घटना पनि बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीले बाहिर हिँड्दा गहना लगाउँदा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

.gif)