पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै
काठमाडौं । नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ । आगामी भदौ १ गते हुन लागेको २०६औँ भगवती रथाजात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल-अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवतीको रथयात्रा गर्ने परम्परा रहिआएको छ । तत्कालीन तैनाथ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अङ्ग्रेज फौजलाई जितगढी किल्लामा विजय हासिल गरेको थियो ।
दुई सय वर्षअघिदेखि भगवतीको रथयात्रा गर्ने प्रचलन कायम राख्दै यो वर्ष आगामी भदौ १ गते रथयात्रा गर्ने तयारी भएको छ । तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए ।
युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए । गुठी व्यवस्थापन समितिले विभिन्न उपसमिति गठनगरी विजय उत्सवलाई भव्य बनाउन लागिपरेको छ ।
कार्यक्रममा सहभागी हुन राष्ट्रका उच्चपदस्थ व्यक्तिहरू पनि आउनुहुने महर्जनले बताए । उनका अनुसार विजयजात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीको राति प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले संयुक्त रूपमा पञ्चवलीसहित पूजा गर्ने प्रचलन छ । अङ्ग्रेजसँग युद्ध लडेको तरबार प्रदर्शन गरी रथमा राखेर सेनाले बढाइँ दिने चलन रहिआएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।
उनका अनुसार विजयउत्सव भगवती जात्रालाई तानसेन बजारको पाल्पा दरबार शीतलपाटी, भगवतीटोल, वसन्तपुर, कैलाशनगर, अशनटोल, नारायणस्थान, भीमसेनटोल, गोरखदल गण, बसपार्क आन्दोलनचोक, बडिज्ञानटोल, सिल्खानटोल, टक्सारलगायत स्थानमा घुमाउने गरिन्छ । जात्रा हेर्न पाल्पा, काठमाडौँ, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट उच्चपदस्थ व्यक्ति, सरकारी कर्मचारीलगायत आमनागरिकको उपस्थिति रहने समितिले जनाएको छ ।

.gif)