sevenstartv.com ४ पुष २०८२, शुक्रवार

दशैं, तिहार र छठ पर्वका लागि भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सन्चालन गर्ने तयारीमा सरकार

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसलको तयारी थालेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सन्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसको तयारी थालेको हो ।

दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सन्चालन गर्ने गरी तयारी थालिएको हो ।  यसअनुसार सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सुरु हुनेछ । यस वर्षको दशैंको टीका असोज १६ गते र घटस्थापना असोज ६ गते परेको छ ।

सुपथ मूल्य पसलमा विगतमा जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले विभिन्न खाद्य सामग्रीहरुमा उपभोक्तालाई छुट दिनेछन् । तर कुन सामग्रीमा कति रुपैयाँ छुट दिने भन्ने निर्णय भइसकेको छैन । सुपथ मूल्य पसल कहाँ–कहाँ राख्ने भन्ने पनि निश्चित हुन बाँकी छ ।

सरकारले सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्युदेखि लिएर खसीबोका र च्याङ्ग्रासम्म बिक्री वितरण गर्दछ । यस वर्ष पनि अनलाइनमार्फत् अर्डर गर्न मिल्ने र उपभोक्ताको घरसम्मै पुर्‍याइदिने व्यवस्था मिलाउने तयारी मन्त्रालयको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्