sevenstartv.com ४ पुष २०८२, शुक्रवार

मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण शुरु

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।  

हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका-२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार ३१९ मिटर लामो सुरुङ निर्माण शुरु गरेको जनाइएको छ । 

अडिटको दूरी ४५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी १५१ मिटर उचाइबाट अन्नपूर्ण(२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 

मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आवद्ध हुनेछ्। आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए। कुल १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यो आयोजनामा नविल बैंक लिमिटेडको नेतृत्वमा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवर्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ । 

नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर आठ रुपैयाँ ४० पैसा र वर्षायामको दर चार रुपैयाँ ८० पैसा कायम भएको छ। आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट एक अर्ब नौ करोड र बर्खामा २७७ गिगावाटबाट एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ । मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा ३०० मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, १८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्